अभिनेत्री आँचल शर्माले फिल्म निर्माणको तयारी गरिरहेको कुरा खुलाएकी छिन्। चर्चित अभिनेत्री आँचलले मिडियासँगको कुराकानीमा फिल्म बनाउन चाहेको भए पनि तत्काल कुनै योजना नभएको बताएकी हुन्।
नेपालको फिल्म उद्योगमा अभिनेत्रीहरू केकी अधिकारी, स्वस्तिमा खड्का, ऋचा घिमिरेजस्ता थुप्रै नाम सफल निर्माता भइसकेका छन्। यो सूचीमा आँचल शर्माको नाम पनि थपिने तयारी देखिन्छ। आँचलले फिल्म निर्माणको काम तयारीसहित गर्नु पर्ने धारणा राख्दै भनिन्, ‘बेहुली फ्रम मेघौली, बोक्सीको घर, तेल भिसाले एकदमै राम्रो गर्यो। सबै जना यसरी अगाडि बढेको राम्रो हो। हाम्रो पेसा नै यही हो।’
उनले आफूले चाहिँ २-४ वर्षपछि मात्र फिल्म बनाउने योजना रहेको स्पष्ट पारिन्। हाल केही फिल्महरू पाइपलाइनमा रहेको र निर्माणको लागि तयारी गरिरहेको बताएकी छिन्।
अभिनेत्री आँचल शर्मा अहिले फिल्म ‘जेरी अन टप’ को छायांकनमा व्यस्त छिन्। केही समय अगाडि मात्र उनले ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणको फेसन शोमा क्याटवाक गर्दै चर्चा बटुलेकी थिइन्।
उनको अर्को प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ पनि प्रदर्शनको तयारीमा छ। आँचलले यसअघि पनि सफलतापूर्वक चलचित्र क्षेत्रमा आफूलाई स्थापित गरिसकेकी छिन्। अब उनी निर्माणको यात्रामा समेत अघि बढ्न चाहेको संकेतले फ्यानहरू उत्साहित बनेका छन्।