राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा प्रदर्शन गरिरहेका समर्थक र प्रहरीबीच बुधबार झडप भएको छ। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
चितवनको चौबिसकोटीबाट सुरु भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालयअगाडि पुग्दा उग्र बनेको थियो। लामिछानेमाथि सहारा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बयानका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराइएको थियो। यसपछि उनका समर्थकले प्रदर्शनको क्रम बढाउँदै चितवनमै लामिछानेको रिहाइको माग राख्दै आन्दोलन गरिरहेका छन्।
प्रहरीले प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो। त्यसक्रममा दुवै पक्षबीच झडप हुँदा घाइते हुनेको संख्या बढेको छ। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेको उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।
झडपका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल प्रहरीलाई धक्का दिएको र प्रहरीलाई चोटपटक लागेको कुरा पत्रकार सन्तोष देउजाले गरिरहेका बेला रास्वपाका समर्थकहरूले सन्तोष देउजालाई आक्रमण गरेपछि देउजा पनि घाइते भएका छन्।
प्रदर्शनकारीले रवि लामिछानेमाथि लागेको आरोप आधारहीन रहेको दाबी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरिरहेका छन्। यसैबीच, चितवनमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सरकारले कानूनी प्रक्रिया पूरा गरिनुपर्ने बताए पनि प्रदर्शनकारीको आक्रोशले स्थिति तनावपूर्ण बनेको छ। चितवन जिल्ला प्रशासनले सर्वसाधारणलाई शान्त रहन आग्रह गरेको छ।