प्रसाईंविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार बुधबार जिल्ला अदालत, काठमाडौंमा मोहन बस्नेत प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा मुद्दा दायर गरिएको छ। यो मुद्दा साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा दर्ता गरिएको हो।
आपराधिक विश्वासघात र संगठित अपराधमा सीआईबीको थप अनुसन्धान
विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएपनि प्रसाईंविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अलग्गै अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्रीविरुद्ध आरोपपछि पक्राउ
४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएका थिए। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विवरण झुठा रहेको खुलेपछि प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा नियन्त्रणमा लिएको थियो।
भारतीय गुण्डा नाइकेको धम्की प्रकरण
अनुसन्धानका क्रममा भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाममा व्यवसायीलाई धम्क्याउँदै असुली गरेको प्रकरण पनि प्रसाईंसँग जोडिएको पाइएको छ। धम्की दिने व्यक्तिले प्रसाईंलाई सहयोग गर्ने निर्देशन दिएको खुलासा भएपछि यस प्रकरणमा सीआईबीले थप अनुसन्धान थालेको छ।
झापाका नविन प्रधानको पक्राउ
सीआईबीले झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आसामबाट पक्राउ गरेको थियो। फुयाँलले प्रसाईंको निर्देशनमा व्यवसायीलाई धम्की दिएको स्वीकार गरेपछि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दा पनि जोडिएको हो।