JalkapurMedia
काठमाडौं – खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङलाई मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले रित्तो गाग्री बोकेर सिंहदरबार आउने शैली समस्याको समाधान नभएको दाबी गरे। उनले सरकार मिडिया प्रदर्शन होइन, काम गरेर देखाउने पक्षमा रहेको बताए।
मन्त्री यादवले भने, “धरानमा खानेपानी समस्या समाधान गर्न अबको एक वर्षभित्र ठोस कदम चाल्छौं। हामी काम गरेर देखाउनेछौं। रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन।”
धरानको खानेपानी समस्या समाधानका लागि करिब ६ अर्ब रुपैयाँको बजेट छुट्याइएको मन्त्री यादवले जानकारी दिए। उक्त बजेट एडीबीको ऋण सहयोगमार्फत व्यवस्थापन गरिनेछ। मन्त्रीले धरानमा खानेपानीको लागि आवश्यक पर्ने जग्गा अतिक्रमण गरी योजनाहरू अगाडि बढाइने जानकारी दिए।
उनले थपे, “प्रधानमन्त्रीसँग धरानको खानेपानी समस्याबारे छलफल भएको छ। हामीसँग ठूलो बजेट छ। एडीबीको ऋण सहयोगमार्फत धरानमा खानेपानी व्यवस्थापन गर्ने सल्लाह भएको छ।”
मन्त्री यादवले धरानका मेयर हर्क साम्पाङले यसअघि गरेको प्रयासलाई ‘मिडिया स्टनबाजी’ भन्दै आलोचना गरे। “मेयरसाबले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको पानी पनि गुमाउनुपर्यो। नेपाल खानेपानी संस्थानले दिइरहेको पानी आफैं व्यवस्थापन गर्नुभयो, तर सफल हुनुभएन,” उनले भने।
मन्त्री यादवले धरानको खानेपानी समस्या पुरानो भए पनि संघीय सरकारको पहलले यसलाई समाधान गर्ने विश्वास व्यक्त गरे।
धरानमा खानेपानीको समस्या विगतदेखि नै गम्भीर रहँदै आएको छ। स्थानीय मेयरले केही स्थानमा पानी पुयाउन सफल भए पनि त्यो पूरै धरानका लागि पर्याप्त छैन। अहिले पनि धरानका धेरै वडाहरू खानेपानीको अभावमा छन्। मन्त्री यादवले संघीय सरकार र प्रधानमन्त्रीको निर्देशनमा समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरे।
धरानका मेयर र संघीय सरकारबीच खानेपानी समस्याबारे मतभेद देखिए पनि मन्त्री यादवले ६ अर्बको बजेट र एडीबीको सहयोगमार्फत समाधान गरिने दाबी गरेका छन्। धरानका नागरिकले अब संघीय सरकारको योजनाको प्रतिफल पर्खनु पर्ने देखिएको छ।