प्रदीपको व्यंग्य: नेपाली फिल्म उद्योग ‘किराना पसल’ शैलीको Family Business
नेपाली चलचित्रका लोकप्रिय अभिनेता प्रदीप खड्काले आइतबार एक कार्यक्रममा नेपाली फिल्म उद्योगप्रति व्यंग्यात्मक टिप्पणी गर्दै यसलाई किराना पसल शैलीको “फेमिली विजनेश” जस्तो भएको बताएका छन्।
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ) को दोस्रो संस्करणको मिति घोषणा कार्यक्रममा उनले नेपाली फिल्म क्षेत्रलाई अझ व्यवसायिक बनाउन कर्पोरेट कल्चर र नीतिगत सुधारको आवश्यकता औंल्याए।
“नेपाली फिल्म किराना पसल शैलीमा चलिरहेको छ”
प्रदीपले आफ्नो भनाइ राख्दै भने,
“आजसम्म नेपाली फिल्म फेमिली विजनेशजस्तो भइरहेको छ। त्यो पनि किराना पसल शैलीको। १० बजेसम्म बुबा पसलमा बस्ने, १० बजेपछि आमा, अनि बेलुका स्कुलबाट फर्किएका छोराछोरी पसलमा बस्ने। आमा निर्देशक, बुबा निर्माता, छोराछोरी हिरो-हिरोइन।”
उनको यस टिप्पणीले सभाकक्षमा रहेका सहभागीहरूलाई हँसाएको मात्र होइन, कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि प्रदीपको तर्कलाई समर्थन जनाउँदै मुन्टो हल्लाए।
“कर्पोरेट कल्चर आवश्यक छ”
प्रदीपले नेपाली फिल्म क्षेत्रलाई व्यवसायिक बनाउन कर्पोरेट कल्चरको महत्वबारे प्रकाश पारे।
“जब हामीले फिल्ममा कर्पोरेट कल्चर स्थापित गर्छौं, त्यो दिन डिजर्भिङले मात्र अवसर पाउँछन्। लगानीकर्ताले रिटर्न सोचेर मात्र लगानी गर्छन्।”
फिल्मलाई शो नपाउने समस्या समाधानका लागि कोटा सिस्टम
उनले नेपाली फिल्मले शो नपाउने समस्या समाधानका लागि कोटा सिस्टम अनिवार्य गर्नुपर्ने बताए।
“हामीले ‘प्रकाश’को बेला शो पाएन भनेर धेरै गुनासो गर्यौं। यो समस्या समाधान गर्न शुक्रबार र शनिबार ३०/३५ प्रतिशत स्क्रिन नेपाली फिल्मलाई आरक्षित गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ।“
“नेपाली फिल्मलाई व्यवसायिक दृष्टिकोणले हेर्नुपर्छ”
प्रदीपको धारणा छ कि नेपाली फिल्मलाई पारिवारिक भावनामा आधारित व्यवसायको रूपमा मात्र होइन, व्यावसायिक दृष्टिकोणले हेर्नुपर्छ। उनले नेपाली फिल्मको विकासका लागि ठोस नीति र व्यावसायिक वातावरण आवश्यक रहेकोमा जोड दिए।
अभिव्यक्तिले निम्त्याएको चर्चा
प्रदीपले यसअघि पनि आफ्नो धारणा राख्दा विवाद र आलोचनाको सामना गरेका छन्। तर, यसपटक उनको व्यंग्यात्मक टिप्पणीले चलचित्र क्षेत्रका वास्तविक समस्याबारे गम्भीर छलफल सुरु गरेको देखिन्छ।