हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अमेरिकामा जन्मिएका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकता प्रणालीलाई समाप्त गर्ने योजना सार्वजनिक गर्नुभएको छ। यो प्रणालीले आप्रवासी अभिभावकका सन्तानलाई अमेरिकाको माटोमा जन्मिने वित्तिकै नागरिकता प्रदान गर्ने गरेको थियो।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनुभएको छ। तर, अमेरिका बाल्यकालमै ल्याइएका आप्रवासी शिशुहरू (ड्रिमर आप्रवासी) का लागि कुनै सम्झौता गर्न आफू तयार रहेको बताउनुभयो।
हालको कानुनअनुसार, अमेरिकामा जन्मिएका जो कोहीलाई उनीहरूका आमाबाबुको अध्यागमन स्थितिको पर्वाह नगरी नागरिकता प्रदान गरिन्छ। ट्रम्पले यस प्रणालीमा परिवर्तन ल्याउन रिपब्लिकन पार्टीका सदस्यहरू पनि सहमत हुन सक्ने दाबी गर्नुभएको छ।
यसअघि, ट्रम्पले ह्वाइट हाउस फर्केलगत्तै अवैध आप्रवासीलाई देश निकाला गर्न राष्ट्रिय आपतकाल घोषणा गर्ने योजना रहेको बताउनुभएको थियो।
सन् २०२२ जनवरीसम्म, अमेरिकी सरकारी तथ्यांकअनुसार, करिब १ करोड १० लाख अवैध आप्रवासीहरू देशभित्र रहेका छन्, जुन संख्या हाल अझै बढेको बताइएको छ। २०१७ देखि २०२१ सम्मको आफ्नो कार्यकालमा पनि ट्रम्पले आप्रवासीलाई निर्वासन राहत र कार्यअनुमति प्रदान गर्ने कार्यक्रम समाप्त गर्न प्रयास गर्नुभएको थियो। तर, उक्त प्रयासलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
जन्मसिद्ध नागरिकता प्रणालीलाई समाप्त गर्ने ट्रम्पको योजनाले कानुनी चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ। सर्वोच्च अदालतले यसअघि यस प्रणालीलाई समर्थन गरेको छ। अमेरिकी आप्रवासी परिषद्का अनुसार, सबै आप्रवासीलाई एक दशकभित्र देश निकाला गर्दा वार्षिक झन्डै ८८ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।
यस्तै, ट्रम्पले सन् २०२० मा भएको क्यापिटल हिल दंगामा दोषी ठहर भएका व्यक्तिहरूलाई आम माफी दिने योजना बनाएको पनि बताउनुभएको छ।