नेपाली कांग्रेसले सरकारमा पठाउने मन्त्रीकोहरुको सूची लगभग तयार पारिसकेको छ ।
सोमबार सपथ ग्रहण गराउने गरि कांग्रेसले मन्त्रीको सूची तयार पारेको हो । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार कांग्रेसले १० वटा मन्त्रालय पाउने समझदारी भएको थियो । तर, नयाँ सरकारलाई दुईतिहाइको बनाउने ओलीको प्रयत्नका कारण अन्य साना दललाई पनि सरकारमा राख्नुपर्ने भएकाले कांग्रेसका २ मन्त्रालय घट्ने भएको छ ।
यिनै ८ मन्त्रालयमा मन्त्रीको सन्तुलन मिलाउन सभापति शेरवहादुर देउवाले प्रयत्न जारी राखेका छन् ।
देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पार्टीको नेतृत्व गराउँदै सरकारमा पठाउने भएका छन् । गृहमन्त्रालयमा रमेश लेखक जानेछन् भने सहमहामन्त्री किशोरसिंह राठौरलाई पनि सकारमा पठाउने देउवाको योजना रहेको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार त्यसबाहेक देउवा पत्नी आरजु राणा पनि सरकारमा जाने छिन् । देउवाले सांसद अजय चौरासियालाई पनि मन्त्री बनाउने ती नेताको भनाइ छ ।
सभापति देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको कोटामा दिपक खडकालाई मन्त्री बनाउन लागेको चर्चा छ ।
उपसभापति पूर्णबहादुर खड्काको एकमात्र सिफारिसमा रामहरि खतिवडाको नाम परेको छ । खड्काको सिफारिसमा देउवा सहमत भएमा खतिवडा पनि मन्त्री बन्नेछन् ।
उता संस्थापनइतरबाट भने सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एकजना मन्त्री बन्नेछन् , हृदयराम थानी, रामनाथ अधिकारी र दिपक गिरीमध्ये एकलाई सरकारमा पठाउने गृहकार्य भएको छ ।
शेखर पक्षका एक नेताका अनुसार यो पक्षबाट तेजुलाल चौधरी र सरिता प्रसाईंमध्ये एकजना मन्त्री बन्नेछन् ।
महामन्त्री गगन थापा मन्त्री नबन्ने भएपछि प्रदीप पौडेललाई मन्त्री बनाउने गगनको प्रस्तावमा शेखर सहमत भए पनि देउवा असहमत देखिएका छन् । पौडेलको स्थानमा अर्जुननरसिंह केसीको नाम आउन सक्ने बताइएको छ ।
अहिलेसम्म कांग्रेसले गृह र परराष्ट्रमन्त्रालय पाउने बताइएपनि अन्य मन्त्रालय भने टुंगो लागिसकेको छैन ।