चितवनमा रेलमार्ग सर्भे गर्न आएका टोलीको गाडीमा स्थानीयहरूले आगो लगाएका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा आरएच कन्सल्टेन्सीको गाडी स्थानीयले नियन्त्रणमा लिई आगजनी गरेका हुन्।
गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो, र आगो अब नियन्त्रणमा आइसकेको छ।
हेटौंडाबाट बर्दघाटसम्मको पूर्वपश्चिम रेल मार्गको निर्माणका लागि कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।
मंगलबार वडा नम्बर ८ मा सर्भे सम्पन्न भएपछि टोली बुधबार बिहान वडा नम्बर ७ कृष्णपुर पुगेको थियो। त्यहाँ स्थानीयहरूले टोलीलाई नियन्त्रणमा लिई दिउँसो गाडीमा आगो लगाएका थिए।
स्थानीयहरूले बाक्लो बस्ती भएको क्षेत्रमा रेलमार्ग निर्माण हुन नहुने भन्दै विरोध गर्दै आएका थिए। उनीहरूले संघर्ष समिति बनाएर यो मुद्दा मन्त्रालयसम्म पुर्याएका थिए।
यसअघि पनि सर्भे गर्न आएका टोलीलाई स्थानीयहरूले नियन्त्रणमा लिएका थिए। दोस्रो पटक आएको टोलीको गाडी पुनः स्थानीयले नियन्त्रणमा लिई जलाएका छन्।